.jpg)
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ले हलमा पुराना र नयाँ पुस्ता दुवैको साथ पाएको छ । फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । सोमबार काठमाडौंको एक हलमा ७६ वर्षीया वृद्धाले फिल्म हेर्दै त्यसमा समावेश गीत समेत गाएकी थिइन् । यसले फिल्मप्रति दर्शको उत्साह दर्शाउँछ ।
फिल्मले कामकाजी दिनमा समेत देशभर उपलब्ध शोमा राम्रो अुकपेन्सी हासिल गरिरहेको छ । जसले गर्दा हलहरूले फिल्मको शो बढाउन थालेका छन् । मंगलबार धेरै हलमा टिकट दर आधा भएकाले काठमाडौंसहित नेपालगन्ज, इटहरी, बिर्तामोड, दमक, चितवन, पोखरा, दाङ, धनगढी लगायतका सहरमा दर्शक उपस्थिति बलियो देखिएको छ ।
गायक अशोक दर्जीको जीवनकथामा आधारित ‘मन बिनाको धन’लाई दर्शकहरूबाट प्रतिक्रिया पनि सकारात्मक मिलेको देखिन्छ । फिल्मको कथावस्तु, संगीत र भावनात्मक प्रस्तुतिको प्रशंसा भइरहेको छ भने अशोकको स्वाभाविक अभिनयले दर्शकलाई भावुक बनाएको छ । अशोक भविष्यमा राम्रो कलाकार बन्न सक्ने प्रतिक्रिया पनि धेरै प्राप्त भएको छ ।
‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको यस फिल्ममा अशोकसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी लगायतको अभिनय रहेको छ । संगीतकारको रुपमा परिचित टंक बुढाथोकीले फिल्मको निर्देशन गरेका हुन् ।

