.jpg)
घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको फिल्म ‘जारी २ : सङ अफ च्याम्ब्रुङ’ १४ मिनेट लम्बिएको छ । निर्माण पक्षले नयाँ दृश्यसहितको फिल्म सोमबार साँझ सेन्सर गराएको छ । अब फिल्मको लम्बाइ २ घन्टा २१ मिनेट भएको छ । सुरुमा फिल्मको रनटाइम २ घन्टा ७ मिनेट थियो । फिल्मको नयाँ संस्करणलाई ‘डिरेक्टर्स कट’ भनिएको छ ।
बुझिएअनुसार निर्माण पक्षले फिल्मका केही पुराना दृश्यहरू सम्पादन गर्दै क्लाइमेक्सअघि नयाँ दृश्य थपेको छ । दर्शकहरूले मंगलबारबाट फिल्मको नयाँ संस्करण हलमा हेर्न पाउने निर्देशक उपेन्द्र सुब्बाले जानकारी दिए । फिल्ममा थपिएको नयाँ दृश्यले दर्शकलाई कथासँग अझ गहिरो भावनात्मक सम्बन्ध महसुस गराउने उनको विश्वास छ ।
गत शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले १ करोड हाराहारीको ओपनिङ गरेको थियो । दोस्रो दिन १ करोड २१ लाख ग्रस कमाइ गरेको फिल्मले आइतबार पनि देशभर सुखद् अकुपेन्सी हासिल गरेको छ । तर, दर्शक प्रतिक्रिया अपेक्षाअनुसार नआउँदा व्यापारमा अपेक्षित वृद्धि हुन सकेको छैन । अब फिल्ममा थपिएको नयाँ दृश्यले कस्तो प्रभाव पार्छ भन्नेचाहिँ हेर्न बाँकी छ ।
लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

