
अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘परान’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो फिल्मले ९ दिनमा साढे तीन करोडको आँकडा नघाएको छ । गत शनिबारसम्म फिल्मको कुल कमाइ ३ करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस छ । शनिबार मात्र फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो ।
बोर्डले तिहारको अवसरमा प्रदर्शन भएका चार फिल्म ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’को पनि कात्तिक २२ गतेसम्मको कुल आम्दानी सार्वजनिक गरेको छ । जसमा ‘जेरी अन टप’ ११ करोड ७१ लाख ४१ हजार कमाउँदै शीर्षस्थानमा छ । योसँगै फिल्मले यस वर्ष सर्वाधिक कमाइको कीर्तिमान बनाएको ‘ऊनको स्वीटर’को रेकर्ड तोडेको छ ।
त्यस्तै, ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । ‘मैझारो’ले १ करोड ४ लाख कमाएको छ । बक्स अफिसमा सबैभन्दा हरिविजोग ‘सोल्टिनी’को भएको छ । यसको कमाइ २९ लाख मात्र छ । यसरी हेर्दा तिहारको अवसरमा चार फिल्मले साढे १५ करोडभन्दा बढीको व्यापार गरेको देखिन्छ ।
बोर्डले गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’को भने बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छैन । बुझिए अनुसार अर्को साताको सोमबार यी दुवै फिल्मको व्यापार सार्वजनिक गरिनेछ । दशैंदेखि बोर्डले हरेक सोमबार नेपाली फिल्मको व्यापार सार्वजनिक गर्दै आएको छ, जसले फिल्म क्षेत्रमा पारदर्शिता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

