Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जेरी अन टप’ : चार फ्लपपछि आँचलले पाएको हिट

फिल्मीखबर, काठमाडौं, 2025/11/10

Aanchal Sharma

 

विगत तीन वर्षयता अभिनेत्री आँचल शर्मा एउटा हिट फिल्मको पर्खाइमा थिइन् । यो बीचमा उनका चारवटा फिल्म असफल भए । उनलाई पहिलो पटक ‘लाइमलाइट’मा ल्याएको फिल्म ‘नाइँ नभन्नू ल’को छैटौं श्रृंखला होस् वा ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’, कुनैले उनलाई सफलता दिलाउन सकेनन् । उनका पछिल्ला दुई फिल्म ‘दुःखी आत्मा’ र ‘वर एन्ड वधु’ पनि नराम्ररी डुबे ।

लगातार चार फिल्म असफल हुँदा आँचलको करिअर चुनौतीपूर्ण मोडमा पुगेको थियो । तर, तिहार छेकोमा रिलिज भएको फिल्म ‘जेरी अन टप’ले उनलाई ठूलो राहत दिएको छ । करिब १२ करोडको व्यापार गर्दै यो फिल्म यस वर्षको दोस्रो हिट बनिसकेको छ । यसको सफलताले आँचलको करिअरको ‘संकटमोचन’ मात्र गरेको छैन, अभिनयको प्रशंसाले उनलाई पुनः चर्चामा ल्याएको छ ।

‘जेरी अन टप’का लागि उनले ठूलो त्याग गरेकी थिइन् । यो फिल्मको छायांकन लम्बिँदा उनले पाँचवटा फिल्मबाट हात झिकेकी थिइन् । उनले ‘पिताम्बर’, ‘हर्ष’, ‘राम नाम सत्य’सहित अन्य दुई फिल्म छाडेकी थिइन् । ‘जेरी अन टप’ व्यावसायिक रुपमा सफल भएका कारण उनले फिल्महरू छाडेकोप्रति पछुतो महसुस गर्नु परेन । एउटै फिल्मले उनलाई लोभलाग्दो सफलता दिलाएको छ ।

तर, रोचक कुरा के छ भने ‘जेरी अन टप’ले लगभग १२ करोड कमाउँदा पनि यो आँचलको सर्वाधिक कमाउने फिल्मको सूचीमा पहिलो स्थानमा पर्न सकेको छैन । उनको सबैभन्दा धेरै कमाउने फिल्म ‘शत्रु गते’ हो, जसले १२ करोड ६५ लाख कमाइ गरेको थियो । अब ‘जेरी अन टप’ले ‘शत्रु गते’को रेकर्ड तोड्न सफल भएमा उनले आफ्नो करिअरमा एउटा नयाँ कीर्तिमान बनाउनेछिन् ।