
बलिउड सुपरस्टार सलमान खान यतिबेला आफ्नो नयाँ फिल्म ‘ब्याटल अफ गलवान’को छायांकनमा व्यस्त छन् । मुम्बईको गोरेगाउँस्थित फिल्म सिटीमा तीन सातादेखि छायांकन भइरहेको यस फिल्ममा नेपाली कलाकारहरूलाई पनि ‘कास्ट’ गरिएको छ । अभिनेता अनुप विक्रम शाही फिल्ममा मुख्य भिलेनको रुपमा छन् । सलमानसँग उनको १३ मिनेट लामो एक्सन सिन रहेको छ ।
गत भदौ अन्तिममा भारतको लद्दाख क्षेत्रमा करिब ४५ दिन फिल्मको पहिलो चरणको छायांकन हुँदा अनुप एक साता त्यहाँ बसेका थिए । दोस्रो चरणको स्टुडियो छायांकनका लागि गत साता मुम्बई गएका उनी आफ्नो भागको छायांकन पूरा गरेर आइतबार काठमाडौं फर्किसकेका छन् । उनी दुई चरणकै छायांकनमा उपस्थित हुनुले फिल्ममा उनको भूमिका महत्त्वपूर्ण रहेको पुष्टि गर्छ ।
यो फिल्ममा अनुपसँगै नेपाली मुलका अभिनेता तथा गायक प्रशान्त तामाङले पनि अभिनय गरेका छन् । यसको जानकारी उनी स्वयंले इन्स्टाग्राममार्फत दिएका छन् । प्रशान्तले फिल्मको छायांकनका क्रममा अनुपसँग खिचेको एक तस्वीर इन्स्टामा सेअर गर्दै लेखेका छन्, ‘अब केही छ । साँच्चै उत्साहित छु ।’ उनले सलमान खान र निर्देशक अपूर्व लाखियालाई धन्यवाद पनि दिएका छन् ।
प्रशान्तको यो पहिलो बलिउड प्रोजेक्ट भने होइन । उनले यसअघि भारतीय वेब सिरिज ‘पाताल लोक २’मा काम गरेका थिए, जसमा उनी स्नाइपरको भूमिकामा थिए । यसले उनलाई ठूलो लोकप्रियता दिलायो । उनले अर्को वेब सिरिज ‘द फेमिली म्यान ३’मा पनि काम गरेका छन्, जुन २१ नोभेम्बरमा रिलिज हुँदैछ । पछिल्लो समय उनी गायनभन्दा अभिनयमा बढी सक्रिय देखिएका छन् ।

