.jpg)
दशैंदेखि घरेलु बक्स अफिस चलायमान देखिएको छ । दशैं-तिहारमा मात्र नेपाली फिल्मले झन्डै २९ करोडको व्यापार गरे । ठूला चाडपर्व सकिएपछि पनि नयाँ फिल्महरूले आशाजनक प्रदर्शन गरिरहेका छन् । गत साता प्रदर्शन भएको ‘परान’ सुपरहिटतर्फ उन्मुख छ भने, यसै सातादेखि प्रदर्शनमा आएका दुई फिल्म ‘जारी २’ र ‘मन बिनाको धन’ले पनि उत्साहप्रद ओपनिङ गरेका छन् ।
शुक्रबारका दुई फिल्ममध्ये सर्वाधिक शो पाएको ‘जारी २’ले पहिलो दिन नै देशव्यापी ७० प्रतिशत अकुपेन्सी हासिल गरेको थियो । दोस्रो दिन शनिबार दर्शक अकुपेन्सी अझ उच्च रह्यो । फिल्मले देशभर उपलब्ध शोहरूमध्ये ६० प्रतिशतभन्दा धेरैमा शतप्रतिशत नै अकुपेन्सी हासिल गरेको थियो । शनिबार मात्र फिल्मले डेढ करोडभन्दा माथिको व्यापार गरेको हुन सक्ने अनुमान गरिएको छ ।
न्यून शोसहित प्रदर्शनमा आएको ‘मन बिनाको धन’ले पनि दुई दिन सुखद व्यापार गरेको छ । शुक्रबार फिल्मको देशव्यापी अकुपेन्सी ५० प्रतिशत हाराहारी थियो भने, शनिबार ७०-७५ प्रतिशतसम्म रह्यो । शनिबार फिल्मलाई देशभर उपलब्ध धेरैजसो शोमा दर्शकको उपस्थिति उच्च देखिएको थियो । केही सहरमा फिल्म हेर्न दर्शकहरू गाडी रिर्जभ गरेर समेत हलमा पुगेका थिए ।
प्रदर्शनको दुई दिन सुखद विताएका ‘जारी २’ र ‘मन बिनाको धन’का लागि आइतबारदेखिको व्यापार निकै महत्त्वपूर्ण रहनेछ । किनभने अब सकारात्मक ‘वर्ड अफ माउथ’ले मात्रै फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने भएकाले दुवै फिल्मको व्यापारिक भविष्य यसैमा निर्भर छ । तर, यी दुवै फिल्म हेरेका दर्शकले सामाजिक सञ्जालमा जनाएको प्रतिक्रिया भने अपेक्षा अनुसार देखिएको छैन ।
लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय रहेको छ । यसका निर्देशक उपेन्द्र सुब्बा हुन् । टंक बुढाथोकीको निर्देशनमा बनेको ‘मन बिनाको धन’ भने बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित छ । फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् ।

