
काठमाडौंको बुद्धनगर क्षेत्रमा महिलाहरूका लागि सुविधासम्पन्न नयाँ ब्यूटी पार्लर सञ्चालनमा आएको छ । सञ्चारकर्मी समेत रहेकी मञ्जु गैरे पराजुलीले सञ्चालनमा ल्याएको ‘रुपरंग ब्यूटी स्टुडियो’को शनिबार अभिनेत्री द्वय सञ्चिता लुईंटेल र अञ्जना बराइलीले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरे ।
स्टुडियोको उद्घाटनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सञ्चिताले पार्लरको नामले नै आफूलाई लोभ्याएको बताइन् । उनले भनिन्, ‘मलाई पार्लरको नाम असाध्यै मनपर्यो । यो नामले नै महिलाहरूलाई आकर्षित गर्छ ।’ उनले आफू पार्लरको सेवा र सुविधाबाट प्रभावित भएकाले अब यसको नियमित ग्राहक बन्ने बताइन् ।
अञ्जनाले आफ्नो कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को जस्तै पार्लरको सफलताको कामना गरिन् । उनले अगाडि भनिन्, ‘मलाई पनि पार्लरको नाम एकदमै आकर्षक लाग्यो । अहिले व्यापार-व्यावसायको नाम अंग्रेजीमा राख्ने ट्रेन्ड छ । तर, ‘रुपरंग’को नाम नेपालीमै आकर्षक देखिएको छ ।’ उनले अब आफ्नो बास नै ‘रुपरंग’मा हुने बताइन् ।
स्टुडियोकी सञ्चालक गैरेले महिलाहरूका लागि सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको बताइन् । उनले भविष्यमा ‘रुपरंग’लाई अझ वृहत रूपमा विस्तार गर्ने योजना रहेको पनि जानकारी दिइन् । बुद्धनगरस्थित यूएन पार्कको अपोजिटमा रहेको यो स्टुडियो रोज वर्ड स्कुलसँगै जोडिएको भवनको तेस्रो तल्लामा अवस्थित छ ।

