
कोरियोग्राफरको रुपमा परिचित माइकल चन्दले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘राम नाम सत्य’को छायांकन चितवनमा सुरु गरेका छन् । शुक्रबार चितवनको भरतपुर–११ जिरौनामा अवस्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजा गरेपछि त्यहीँ फिल्मको पहिलो दृश्य खिचियो । चितवनमा करिब ८० प्रतिशत छायांकनको तयारी गरिएको छ ।
४० दिन चितवनमा छायांकन गरेर निर्माण पक्ष हिमाल पारीको जिल्ला मुस्ताङ जानेछन् । त्यहाँ १० दिन छायांकन गरिने निर्देशक चन्दले बताए । उनका अनुसार अहिले फिल्मका मुख्य जोडी सुशील श्रेष्ठ र दिव्या रायमाझीमाथि केन्द्रित दृश्य खिच्ने काम भइरहेको छ । फिल्ममा अभिनेता विराज भट्टको पनि मुख्य भूमिका रहनेछ । उनी यसै साता छायांकनमा जोडिने जनाइएको छ ।
आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा विराज, सुशील र दिव्यासहित आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह लगायतको अभिनय रहनेछ । ‘टिकटक स्टार’ आयुषले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
एक्सन, सस्पेन्स तथा लभस्टोरी कथामा बन्ने यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् । किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ ।

