
चर्चित कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी २’ शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । प्रदर्शनपूर्व बिहीबार साँझ काठमाडौंको बिग मुभिजमा फिल्मको प्रिमियर आयोजना गरिएको थियो । विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको प्रिमियरमा फिल्मका कलाकारहरूले प्रस्तुत गरेको च्याम्ब्रुङ नाच मुख्य आकर्षण बनेको थियो ।
फिल्म हेरिसकेपछि अधिकांशले प्रशंसामा शब्द खर्चेका थिए । कसैले फिल्मले लिम्बू संस्कृतिलाई जीवन्त रूपमा प्रस्तुत गरेको भन्दै प्रशंसा गरे भने, कसैले ‘जारी’को मर्मलाई जीवित राखेको प्रतिक्रिया दिए । सशस्त्र द्वन्द्वताका धर्म र संस्कृति कसरी संकटमा परेको थियो भन्ने पक्षलाई पनि फिल्मले उत्कृष्ट ढंगले प्रस्तुत गरेको कतिपयको धारणा थियो ।
अभिनेता विपिन कार्कीले कलाकारहरूको अभिनयको प्रशंसा गर्दै फिल्म ‘इङ्गेजिङ’ रहेको बताए । ‘सक्किगोनि’ टेलिसिरियलका कलाकार कुमार कट्टेल (जिग्री)ले ‘जारी’ जतिकै सिक्वेल पनि उत्कृष्ट बनेको प्रतिक्रिया दिए । निर्देशक प्रदीप भट्टराईले ‘जारी’को गुण सिक्वेलमा पनि कायम रहेकोमा खुसी व्यक्त गरे । कलाकार कमलमणि नेपालले ‘जारी २’ कलात्मक रहेको बताए ।
प्रिमियरमा विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना पनि उपस्थित थिइन् । फिल्म हेरिसकेपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘मैले ‘जारी’ पनि हेरेकी थिएँ । आज दोस्रो भाग पनि हेर्दा पाउँदा खुशी लाग्यो । यो फिल्मले राम्रो सन्देश दिएको छ । फरक कालखण्डको सेटअपमा निर्देशकले फिल्मलाई निकै सुन्दर ढंगले पस्किनु भएको छ ।’
पूजा चन्द, केकी अधिकारी, आयुष्मान देशराज जोशी, प्रवीण खतिवडा, दिव्य देव लगायतको पनि उपस्थिति रहेको प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री मिरुना मगर लिम्बू संस्कृति झल्किने पहिरनमा देखिएकी थिइन् । अभिनेता दयाहाङ राई दौरा-सुरुवाल र कोटमा ठाटिएका थिए । फिल्मका कलाकारहरू ऋचा शर्मा, विजय बराल लगायतको पनि प्रिमियरमा उपस्थिति रहेको थियो ।

