Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा प्रतिस्पर्धा : दयाहाङ र अशोकको फिल्म आमनेसामने

फिल्मीखबर, काठमाडौं, 2025/11/07

jaari 2 and man binako dhan

 

अघिल्लो साताको फिल्म ‘परान’ले हलमा बलियो पकड बनाइरहेको बेला शुक्रबारबाट फरक स्वादका दुई फिल्म दर्शकमाझ आएका छन् । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै फिल्मप्रति दर्शकको उच्च चासो देखिएकाले बक्स अफिसमा सुखद् व्यापार हुने अनुमान गरिएको छ ।

दुई फिल्ममध्ये शो संख्याको आधारमा ‘जारी २’ अग्रस्थानमा रहेको छ । यसले देशव्यापी २ सयभन्दा बढी शो पाएको छ । ‘मन बिनाको धन’को शो संख्या एक सय हाराहारी छ । दुवै फिल्मको उपलब्ध शोहरूमा देशभर टिकट बिक्री सन्तोषजनक देखिएको छ । अब दर्शकबाट प्राप्त हुने प्रतिक्रिया नै दुवै फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्ने मुख्य आधार बन्नेछ ।

लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । सञ्जय लामाको छायांकन रहेको यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।

गायक अशोक दर्जीको जीवनकथामा आधारित ‘मन बिनाको धन’मा अशोकसहित सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छ । यसमा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् ।