
गत वर्ष प्रदर्शन भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा व्यापारिक कीर्तिमान बनाएको थियो । सोही फिल्मका निर्माता समूहले निर्माण गरेको नयाँ फिल्म ‘अभिमन्यु’ले पनि रिलिज हुनु अगावै एउटा अनौठो कीर्तिमान बनाएको छ । यो फिल्मले सबैभन्दा धेरैपटक रिलिज मिति सारेर कीर्तिमान बनाएको हो । अहिलेसम्म चारपटक फिल्मको प्रदर्शन मिति हेरफेर भएको छ ।
सुरुमा फिल्मलाई साउन २३ गते रिलिजको तयारी गरिएको थियो । तर, यो मितिमा रिलिज सम्भव नभएपछि भदौ २७ गतेलाई नयाँ मिति घोषणा गरियो । रिलिजको तीन दिनअघि जेनजी आन्दोलन भएपछि फिल्म पुनः सर्यो र असोज २४ मा पुग्यो । तर, सो मितिमा शो नै नपाउने अवस्था आएपछि फिल्मलाई कात्तिक २१ गते सारियो । अब यो मितिबाट पनि फिल्म सरेको छ ।
बिहीबार निर्माण पक्षले पाँचौँ प्रदर्शन मितिका रूपमा फिल्मलाई मंसिर १८ गते रिलिज गर्ने निर्णय गरेको छ । फिल्मको नयाँ मिति घोषणा गर्दै निर्माता विनोद पौडेलले फेसबुकमा लेखेका छन्, ‘कहिले के त कहिले के- अनेक कारणहरूले हाम्रो फिल्म चक्रव्यूमा फस्यो । सबै दर्शकसँग माफी माग्दै अब हामी नयाँ उमंग र प्रतिबद्धतासँग मंसिर १८ गते आउँदैछौं ।’
सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । मुकेश खनालको लेखन रहेको फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्मातामा छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता हुन् । यसमा शरद महतोको डिओपी रहेको छ ।

