
फिल्म ‘होस्टेल ३’मा भिलेनको भूमिकाबाट दर्शकमाझ चिनिएका अभिनेता तथा तेक्वान्डो खेलाडी उमर खानलाई लिएर नयाँ फिल्म ‘कंगाल करोडपति’ बन्ने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो फिल्मको निर्माण घोषणा गरियो । राजु श्रेष्ठले फिल्मको निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ ।
सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उमरसहित पदम लोहोरको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने टुंगो लाग्न बाँकी रहेको निर्देशक श्रेष्ठले बताए । एउटा सामान्य मान्छे करोडपति र कंगाल बन्दाको अवस्थालाई फिल्ममा हास्य शैलीमा देखाइने उनको भनाइ छ ।
कैफ खान निर्माता रहेको फिल्ममा सुमन गजमेरको कथा, पटकथा तथा संवाद लेखन छ । उनले यसअघि ‘रंगी’ लेखेका थिए । फिल्ममा मनोज केसी कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी फागुन महिनादेखि सुरु हुनेछ । फिल्मको बजेट डेढ करोड अनुमान गरिएको छ ।

