२०७९ सालमा प्रदर्शन भएको फिल्म ‘जारी’ले ठूलो व्यावसायिक सफलता हासिल गरेपछि यसका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले धेरै अन्तर्वार्तामा स्पष्ट रूपमा सिक्वेल नबनाउने उद्घोष गरेका थिए । तर, उनी आफ्नो अडानमा टिक्न सकेनन् । अन्ततः तीन वर्षपछि उनी ‘जारी’को सिक्वेल लिएर आउँदैछन्, जुन भोलि शुक्रबार (२१ कात्तिक)बाट प्रदर्शन हुँदैछ ।
आफ्नो अडानबाट पछि हटेर ‘जारी २’ बनाएपछि यतिबेला उपेन्द्रमाथि प्रश्न उठिरहेको छ, ‘के ‘जारी’को ब्याज खान सिक्वेल बनाएको हो ?’ यसै साता पत्रकारसँगको एक भेटमा उनले ‘जारी २’ बनाउने योजना नभए पनि अर्को फिल्मका लागि लेखेको कथामा सिक्वेल बनाउन मिल्ने भएपछि जोखिम उठाएको बताए । तर, ब्याज खानलाई मात्र सिक्वेल नबनाएको उनको दाबी छ ।
उनी भन्छन्, ‘मैले फरक कथामा फिल्म बनाउने जमर्को गर्दैगर्दा साथीभाई र अन्यले यसलाई ‘जारी २’ बनाउन मिल्छ भनेपछि आँट गरेको हुँ । ‘जारी’का पात्रहरू दर्शकमाझ लोकप्रिय भएकाले तिनलाई नै बोकेर अर्को कथा भन्न मिल्छ भने किन नभन्ने त भन्ने पनि भयो । मैले एकदमै जोखिम मोलेर ‘जारी २’ बनाएको हुँ । तर, ब्याज खाने लोभले मात्र चाहिँ बनाएको होइन ।’
उनलाई पत्रकारले अर्को प्रश्न गरे- ‘जारी सफल नभइदिएको भए सिक्वेल बन्थ्यो ।’ यसबारेमा उनी भन्छन्, ‘त्यो चाहिँ सोच्थेँ होला । तर, अर्कै नाममा चाहिँ फिल्म बन्न सक्थ्यो । सिक्वेल बनाउन के कुरामा धेरै सजिलो हुँदो रहेछ भने चरित्र स्थापित गर्नु पर्दैन र दर्शकसम्म पुग्न पनि सहज हुन्छ । सिक्वेल बनाउँदा यो सुविधा चाहिँ मलाई भएकै हो ।’
‘जारी २’ बनाउन धेरै चुनौती भएको उनको अनुभव छ । ‘सिक्वेल बनाउँदा थुप्रै कारणले चुनौती हुँदो रहेछ । ‘जारी’मा दर्शकलाई कथा र परिवेश नयाँ लागेको थियो । सिक्वेलमा त नयाँ लाग्ने कुरा हुँदैन । ‘जारी’मा देखिसकेको कथा र पात्रहरू हुने भएकाले सिक्वेलमा मैले कहाँ बढी प्रयास गर्ने भन्ने नै मेरो लागि ठूलो चुनौती थियो । त्यो चुनौतीलाई चिर्ने प्रयास चाहिँ गरेको छु,’ उनले भने ।
निर्देशक सुब्बाले ‘जारी २’मा लिम्बू समुदायको लोकबाजा च्याम्ब्रुङलाई विशेष महत्त्व दिएको ट्रेलरमा देखिन्छ । उनका अनुसार फिल्ममा च्याम्ब्रुङलाई विम्बको रूपमा प्रस्तुत गरिएको छ । भन्छन्, ‘फिल्ममा च्याम्ब्रुङ खुसीको विम्बको रूपमा छ । लिम्बू समुदायमा च्याम्ब्रुङ खुसीयालीमा बजाइने भएकाले यसलाई फिल्ममा खुसीको विम्ब बनाएका छौं ।’

