
भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ले देशभरका हलहरूमा अपेक्षित शो नपाएपछि यसका निर्देशक टंक बुढाथोकीले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बिहान फेसबुकमा एक पोस्टमार्फत उनले हल सञ्चालकहरूले आफ्नो फिल्मलाई नपत्याएको गुनासो गर्दै आफूलाई हराउन धेरै लागिपरेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘म हार्दैछु, मलाई हराउन धेरै लागे, सधैं लागे । ठीकै छ । सिनेमाघर सञ्चालकहरूले ‘मन बिनाको धन’लाई नपत्याए पनि हामीलाई हजुरहरूले पत्याउनु भएको छ । भोलिबाट प्रदर्शन हुने हाम्रो फिल्मको शो एकदमै कम दिने, कतिपय ठाउँमा नदिने निर्णयले दुःख लागेको छ । म हार्दैछु, मसँगै अशोकले पनि हार्दैछन् ।’
बिहीबार बिहानसम्म ‘मन बिनाको धन’ले देशव्यापी ५२ शो पाएको छ । यसले कम शो पाउनुको मुख्य कारण ‘जारी २’सँगको प्रतिस्पर्धा हो । यो सिक्वेल फिल्म भएकाले हलहरूले ठूलो संख्यामा शो उपलब्ध गराएका छन् । जसले गर्दा ‘मन बिनाको धन’ शो बाँडफाँटमा चेपुवामा परेको छ । यद्यपि, ५२ शोमा फिल्मले राम्रो अकुपेन्सी हासिल गरेमा शनिबार स्वतः शो बढ्नेछ ।
गायक अशोक दर्जीको जीवनकथामा आधारित यस फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, सन्तोष पन्त, रमा थपलिया, एआर बुढाथोकी, बिना राउत, उत्सव सापकोटा लगायतको पनि अभिनय रहेको फिल्ममा टंक स्वयंको कथा छ भने पटकथा शिवम् अधिकारीले तयार पारेका हुन् ।

