
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले सोमबारसम्म बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । चार दिनसम्म फिल्मको देशव्यापी अकुपेन्सी ३० प्रतिशत पनि थिएन । तर, दर्शकबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि मंगलबारबाट फिल्मले गति समातेको छ । बुधबार फिल्मको शो संख्या र अकुपेन्सी हेर्दा अब व्यावसायिक सफलता निश्चित देखिन्छ ।
फिल्मले पहिलो दिन ६४ शो पाएको थियो । दर्शक उपस्थिति न्यून हुँदा शनिबार नै धेरै शो गुम्यो । तर, दोस्रो हप्ताको संघारमा आइपुग्दा फिल्मको शो दोब्बरले बढेको छ । बुधबार मात्र फिल्मले १३२ शो पाएको छ । त्यसमध्ये ४० भन्दा बढी शो बिहान नै हाउसफुल भएको निर्माण पक्षले जनाएको छ । दिउँसो र साँझका शोहरूमा पनि उल्लेख्य मात्रामा टिकट बिक्री भएका छन् ।
मंगलबार कीर्तिपुरको कीर्तिपुर सिनेप्लेक्स र राइजिङ मलको क्यूएफक्स हलमा रातिको १२ बजेसम्म पनि हाउसफुलका साथ फिल्म चलेको थियो । बुधबार पनि केही हलले रातिको ९ बजेसम्म फिल्मलाई शो उपलब्ध गराएका छन् । फिल्मप्रति दर्शकको उत्साह कुन हदसम्म बढेको छ भने बिहीबारका केही शो बुधबार दिउँसो नै भरिन थालेका छन् ।
बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित ‘परान’ले हलमा दर्शकको रुवाबासी नै चलाएको छ । फिल्म हेर्दा दर्शकहरू हलभित्रै रोएका केही भिडियो टिकटकमा निकै भाइरल भएका छन्, जसले फिल्मको लोकप्रियता अझ बढाएको छ । विशेषगरी कलाकार नीर शाहको अभिनयले दर्शकलाई बढी प्रभावित बनाएको देखिन्छ ।
दीपक प्रसाद आचार्यको निर्देशनमा बनेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय रहेको छ । फिल्मको निर्माणमा देशका ठूला व्यावसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले सहकार्य गरेका छन् ।

