कलाकार सन्तोष पन्तले २०७९ सालमा आफ्नो चर्चित टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’को नाममा फिल्म बनाएका थिए । यसमा उनी आफैँ मुख्य भूमिकामा थिए भने निर्देशनको जिम्मेवारी उनका छोरा साकार पन्तले सम्हालेका थिए । फिल्ममा समावेश ‘माया जदौ’ गीत निकै लोकप्रिय बनेको थियो । तर, फिल्मले भने व्यावसायिक सफलता प्राप्त गर्न सकेन ।
फिल्म रिलिजको तीन वर्षपछि कलाकार पन्तले ‘हिजो आजका कुरा’ नचल्नुको मुख्य कारण आफूले तिकडम गर्न नसक्नु रहेको बताएका छन् । मंगलबार फिल्म ‘हर्ष’को ट्रेलर रिलिज कार्यक्रममा उनले भने, ‘फिल्म बनाउन जति गाह्रो छ, चलाउन त्यति नै गाह्रो छ । यसैले फिल्म चलाउनका लागि पहिला तिकडम सिक्नुपर्छ । त्यही तिकडम नसिक्दा म डुबेँ ।’
उनले ‘हर्ष’की निर्देशक एकता पौडेललाई आफू हराएको फन्डा गरेर भए पनि फिल्म चलाउन सुझाव दिए । उनले थपे, ‘फिल्म त जसरी पनि चलाउनुस् तर तिकडम चाहिँ गर्नुस् । मलाई बरु अष्ट्रेलिया पठाइदिनुस् र हरायो भन्नुस्, त्यसपछि हंगामा हुन्छ अनि फिल्म चलाउनुस् । तिकडम नगरी फिल्म चल्दैन ।’ उनको यो व्यंग्यात्मक टिप्पणीले कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो ।
उनको भनाइपछि पत्रकारले प्रश्न गरे, ‘आफ्नै प्रोडक्ट कमजोर भएपछि तिकडम गरेर मात्र फिल्म चल्छ भन्नु ठीक हो र ?’ यसको जवाफमा पन्तले भने, ‘यो मैले जानेको र बुझेको कुरा हो । यसैले फिल्म बनाउने नयाँ मेकरलाई इन्डष्ट्रीको तीतो सत्य बताउनुपर्छ भनेर भनेको हुँ । अहिलेको समयमा केही न केही बठ्याइँ नगरी फिल्म चलाउन सकिँदैन । यो मेरो अनुभव हो ।’

