
वसन्त निरौलाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । मंगलबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मका कलाकारहरूलाई पनि चिनाइयो । यसमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल (मुन्द्रे), सागर लम्साल (बले), दीपाश्री निरौला र रजनी गुरुङको मुख्य भूमिका रहनेछ ।
फिल्मको नाम हिन्दू महाकाव्य महाभारतका पाँच पाण्डवसँग मिलेको भए पनि कथावस्तु धार्मिक नभएको निर्देशक निरौलाले स्पष्ट पारे । फिल्म पूर्ण रूपमा मनोरञ्जनात्मक र पारिवारिक हुने उनको भनाइ छ । फिल्ममा पाँच पाण्डवको रूपमा पाँचजना पुरुष पात्र रहने र त्यसमध्ये एकजनाको नाम केही दिनमा सार्वजनिक गरिने उनले बताए ।
आगामी मंसिरबाट छायांकन सुरू हुने फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन् । पेशाले पत्रकार रहेका पौडेलले यसअघि ‘प्रसाद’का दुई श्रृंखला पनि लेखेका थिए । फिल्मलाई ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले निर्माण गर्नेछन् । उनलाई फिल्मको निर्माणमा काली रानी श्रेष्ठले सघाउनेछिन् ।
‘पाँच पाण्डव’मा सुरूमा दीपकराज गिरी र केदार घिमिरे (माग्ने बुढा)को पनि अभिनय रहने चर्चा थियो । दीपक फिल्मको स्क्रिप्टमाथि भएको छलफलमा समेत सहभागी भएका थिए । तर, पछि उनी फिल्ममा जोडिएनन् । न त केदार जोडिए । बुझिए अनुसार उनीहरू ‘छक्का पञ्जा ६’को तयारीमा जुटेकाले फिल्ममा काम गर्न नभ्याएका हुन् ।

