
‘केजीएफ’ स्टार यश चार वर्षपछि नयाँ फिल्म ‘टक्सिक’मार्फत पुनः पर्दामा फर्किँदैछन् । १९ मार्च २०२६ मा रिलिज हुन लागेको यो फिल्मले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । फिल्मप्रतिको उच्च उत्साहका कारण यसले आगामी वर्षको रिलिज क्यालेन्डरमा समेत प्रभाव पारेको छ । मार्च र अप्रिलमा तय केही फिल्महरू स्थगित भइरहेका छन् ।
बलिउड निर्देशक सञ्जय लीला भन्सालीले सन् २०२६ को इद, अर्थात् २० मार्चमा आफ्नो नयाँ फिल्म ‘लभ एन्ड वार’ रिलिज गर्ने तयारी गरेका थिए । तर, बक्स अफिसमा ‘टक्सिक’सँग टकराव हुने भएपछि उनी इदमा फिल्म रिलिज गर्ने योजनाबाट पछाडि हटेको चर्चा छ । अब उनले अगस्टमा फिल्म रिलिज गर्न सक्ने जनाइएको छ ।
‘टक्सिक’का कारण फिल्म ‘धमाल ४’को पनि रिलिज पोस्टपोन्ड भएको खबर छ । २० मार्चलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब अप्रिल वा जुनमा फिल्म रिलिजको सम्भावना रहेको इन्डिया टाइम्सले जनाएको छ । ‘टक्सिक’को तीन सातापछि अर्थात् अप्रिल १० मा रिलिज हुन लागेको निर्देशक डेविन धवनको फिल्म ‘है जवानी तो इश्क होना है’ पनि दुई महिना पछाडि सरेको छ ।
बलिउड मात्र नभइ ‘टक्सिक’को डरले तेलुगू फिल्म ‘डकैत : अ लभ स्टोरी’ समेत सरेको छ । मार्च १९ मा प्रदर्शन हुने भनिएको यो फिल्म अब डिसेम्बर २५ मा रिलिज हुनेछ । यीसँगै मार्च २ मा रिलिज हुन लागेको अक्षय कुमार अभिनीत फिल्म ‘भूत बंगला’ पनि पोस्टपोन्ड हुनसक्ने चर्चा छ । यसरी हेर्दा ‘टक्सिक’का कारण २०२६ को रिलिज क्यालेन्डर अस्तव्यस्त बनेको छ ।

