Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परान’ हेर्दा दर्शकको रुवाबासी, कस्तो छ व्यापार ?

फिल्मीखबर, काठमाडौं, 2025/11/03

movie parana

 

बाबु-छोराको भावनात्मक सम्बन्धमा आधारित फिल्म ‘परान’ले व्यापारमा सुधारका लागि बक्स अफिसमा संघर्ष गरिरहेको छ । आइतबारसम्म व्यापारिक रूपमा अपेक्षित परिणाम नदेखिए पनि फिल्मले भावनात्मक कथावस्तुका कारण दर्शकको मन जित्न सफल भएको छ । हलमा फिल्म हेर्न पुगेका धेरैजसो दर्शकको आँखामा आँसु देखिनुले यसको भावनात्मक प्रभावलाई दशाउँछ ।

फिल्म हेर्ने क्रममा दर्शकहरू हलभित्रै रोएका दृश्य यतिबेला टिकटकमा छ्यापछ्याप्ती बनेका छन् । शुक्रबार एक पुरुषले फिल्म हेरिसकेपछि भक्कानिएर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । एक बालिकाले हलभित्र रुँदै आफ्नो बुबालाई अंकमाल गर्दै विदेश छाडेर नजाने अठोट गरेको दृश्यले पनि फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

फिल्मका मुख्य कलाकार नीर शाहले निभाएको बाबुको पात्रमा दर्शकहरूले बढी अपनत्व महसुस गरेका छन् । उनको जीवन्त अभिनयले दर्शकलाई कथामा समाहित गराएको देखिन्छ, जसका कारण हलमा रुवाबासी नै चलेको छ । फिल्म हेरिसकेपछि सामाजिक सञ्जालमा प्रशंसा गर्नेहरू पनि धेरै देखिएकाले ‘परान’ चाँडै ‘एक कान दुई कान मैदान’ हुने अपेक्षा गरिएको छ । 

यो फिल्मले परिवारको महत्व, बाबु-छोराको सम्बन्ध, पुँजीवादले प्रभावित भएको परिवार र दुई पुस्ताबीचको भिन्न सोच र सपनालाई मार्मिक रूपमा चित्रण गरेको छ । कसिलो पटकथा लेखनले दर्शकलाई फिल्मको पूरा अवधिभर हलमा बाँधेर राख्छ । मध्यान्तरअघि फिल्म अझ बलियो छ । पारिवारिक फिल्म मनपर्ने दर्शकका लागि ‘परान’ राम्रो छनोट हुनसक्छ ।