
बलिउड अभिनेत्री ऐश्वर्या रायले शनिबार आफ्नो जन्मदिन मनाउँदैछिन् । ५२ वर्षमा प्रवेश गरेकी उनलाई सुन्दरता र प्रतिभाको उदाहरण मानिन्छ । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेर विश्वभर आफ्नो पहिचान बनाएकी उनले बलिउडमा प्रवेश गरेपछि ‘देवदास’, ‘हम दिल दे चुके सनम’, ‘ताल’, ‘गुरु’ लगायतका थुप्रै सानदार फिल्ममा उम्दा अभिनय गरेर दर्शकको मन जितेकी छन् ।
ऐश्वर्याले आफ्नो करिअरमा जति कालजयी फिल्म दिएकी छन्, त्यति नै कालजयी बन्न पुगेका केही फिल्म अस्वीकार पनि गरेकी छन् । त्यसमा ‘कभी खुशी कभी गम’देखि ‘राजा हिन्दुस्तानी’सम्म पर्छन् । ‘कभी खुशी कभी गम’ उनले भूमिका मन नपरेर काम गर्न अस्वीकार गरेकी थिइन् । उनलाई टीनाको रोलका लागि अफर गरिएको थियो । पछि यो रोल अभिनेत्री रानी मुखर्जीले गरिन् ।
उनले अस्वीकार गरेको फिल्ममा ‘भूल भुलैया’ (२००७) पनि पर्छ । यो फिल्ममा विद्या बालेनले निर्वाह गरेको मन्जुलिकाको भूमिका सुरूमा ऐश्वर्यालाई अफर गरिएको थियो । यो फिल्म बक्स अफिसमा निकै सफल रह्यो । उनले निर्देशक यश चोपडाको फिल्म ‘वीर जारा’मा समेत काम गर्न इन्कार गरेकी थिइन् । उनलाई अफर गरिएको जारा हयातको भूमिका पछि प्रीति जिन्टाले निभाइन् ।
सन् २००३ को सफल फिल्म ‘मुन्नाभाई एमबीबीएस’मा सुमनको भूमिका पनि सुरूमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर, उनले व्यस्तताका कारण काम गर्न सकिनन् । यीसहित ‘राजा हिन्दुस्तानी’ (१९९६), ‘रङ दे बसन्ती’ (२००६), ‘कहो ना प्यार है’ (२०००), ‘कृष’ (२००६), ‘ह्याप्पी न्यू इयर’ (२०१४), ‘चल्ते चल्ते’ (२००३) लगायतका फिल्ममा पनि उनले काम गर्न अस्वीकार गरेकी थिइन् ।

