Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परान’को प्रिमियरमा जब भक्कानिए नीर शाह

फिल्मीखबर, काठमाडौं, 2025/10/31

nir shah

 

अभिनेता नीर शाहले आफ्नो ६० वर्ष लामो अभिनय करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । तर, उनी आफ्नै फिल्म हेरेर रोएका दृश्य विरलै देखिएको छ । बिहीबार सुन्धारास्थित क्यूएफएक्स हलमा आयोजित फिल्म ‘परान’को प्रिमियरमा भने उनले आँसु रोक्न सकेनन् । फिल्म सकिएपछि उनी केहीबेर आँखा छोपेर रोइरहे, जसले प्रिमियरको माहोल नै स्तब्ध बनायो ।

फिल्ममा उनले धर्मनाथको भूमिका निभाएका छन्, जसको चाहना कान्छो छोरा आफूसँगै रहोस् भन्ने छ । एक बाबुको संवेदनशील पात्रमा जीवन्त अभिनयले गरेका उनले बाबु-छोराको भावनात्मक उतारचढावका दृश्यमा भने आफूलाई सम्हाल्न सकेनन् । उनको उम्दा अभिनयले प्रिमियरमा उपस्थित दर्शकहरू पनि भावविह्वल बनेका थिए ।  धेरैले धर्मनाथको पात्रमा आफ्नो बुबालाई सम्झिए ।

फिल्म सकिएपछि मिडियाकर्मीसँग प्रतिक्रिया दिने क्रममा नीर शाहले आफ्नो पात्रले आफैँलाई रूवाएको बताए । उनले भने, ‘म फिल्ममा आफूलाई हैन, त्यो पात्रलाई गम्भीरताका साथ हेरिरहेको थिएँ । धेरै ठाउँमा भावुक बनायो । छायांकनमा अभिनय गरेपछि पूरा फिल्म आजै हेरेको हुँ । आफूलाई रोक्नै सकिनँ । मलाई मात्र होइन, यो फिल्मले हरेक बुबाआमा र छोराछोरीको मन छुनेछ ।’

प्रिमियरमा फिल्मका कलाकारहरू पूजा चन्द र अञ्जना बराइली पनि हलभित्रै रोएका थिए । निर्देशक दीपक आचार्यले आमालाई अंकमाल गर्दै भक्कानिएको दृश्य अझ कारुणिक थियो । प्रिमियरमा रूवाबासी चलाएको ‘परान’ले अब दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो धेरैमा छ । आज शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मलाई ‘वर्ड अफ माउथ’ले चलाउने अपेक्षा गरिएको छ ।