.jpg)
केही वर्षअघिसम्म गायक तथा अभिनेता प्रकाश सपूतलाई ‘पारसमणि’ भनिन्थ्यो । अर्थात् जे छोयो त्यही चल्ने । ‘गलबन्दी’ गीतको लोकप्रियतापछि उनले करिअर फर्केर हेर्नै परेन । यसपछि ‘पिर’, ‘फुटेको चुरा’, ‘कुरा बुझ्नु पर्छ’, ‘दमाई महाराज’, ‘सकम्बरी’ जस्ता गीतहरूले उनलाई थप उचाइँमा पुर्यायो । त्यसबेला धेरैलाई लागेको थियो, अब उनले करिअरमा असफलता कहिल्यै देख्न पर्दैन ।
तर, समयले यतिबेला उनलाई नसोचेको मोडमा ल्याएर उभ्याएको छ । एकातिर उनका गीत चल्नै छाडेका छन् भने अर्कोतिर उनका फिल्महरू श्रृंखलाबद्ध रूपमा असफल भइरहेका छन् । जसले गर्दा उनको करिअर नै संकटमा परेको विश्लेषण भइरहेको छ । यस वर्ष मात्र चारवटा फ्लप फिल्म दिएका उनको यसै वर्ष रिलिज भएको ‘नाइँ भनेकी नाइँ’ गीत पनि अपेक्षित रूपमा चलेन ।
‘परदेशी २’ र ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछि प्रकाश ‘वसन्त’बाट निर्देशनमा समेत होमिए । यो फिल्मबाट उनलाई ठूलो आशा थियो । तर, यसले बक्स अफिसमा लगानी पनि उठाउन सकेन । यसपछि त उनलाई असफलताले छायाँले झैं पछ्याइरहेको देखिन्छ । ‘वसन्त’पछि उनले अभिनय गरेका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘सोल्टिनी’ पनि असफल भएका छन् ।
अब उनका दुई फिल्म प्रदर्शनको पर्खाइमा छन् । ‘मिरमिरे’ आगामी माघ १ गतेदेखि प्रदर्शन हुँदैछ भने यतिबेला उनी ‘परालको आगो’को छायांकनमा व्यस्त छन् । उनको करिअर अब यिनै दुई फिल्मको व्यापारिक नतिजामा निर्भर छ । उनलाई फिल्मसँगै गीतमा पनि बलियो कमब्याकको आवश्यकता देखिन्छ । यसैले, अहिले उनी व्यावसायिक र सिर्जनात्मक दुवै दृष्टिले दबाबमा छन् ।

