Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परान’को टिकट बुकिङ खुल्यो, कति पायो शो ?

फिल्मीखबर, काठमाडौं, 2025/10/30

nir shah

 

तिहारको छेकोमा रिलिज भएको फिल्म ‘जेरी अन टप’ले दुई सातादेखि बक्स अफिसमा एकछत्र रजाइँ गरिरहेका बेला शुक्रबार (१४ कात्तिक)बाट फिल्म ‘परान’ व्यावसायिक प्रतिस्पर्धामा उत्रिँदैछ । योसँगै साउथ फिल्म ‘बाहुबली’को नयाँ संस्करण ‘बाहुबली : द एपिक’ पनि एकसाथ प्रदर्शन हुन लागेकाले ‘परान’लाई बक्स अफिसमा ठूलो चुनौती सिर्जना भएको छ । 

बिहीबार साँझ प्रिमियर गर्न लागिएको यो फिल्मको बुधबारबाट देशभरका अधिकांश मल्टीप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । हलमा स्वदेशी र विदेशी फिल्मको चाप उच्च रहेकाले ‘परान’ले अपेक्षित शो भने पाउन सकेको छैन । फिल्मले पहिलो दिनका लागि देशभर ६४ शो पाएको खल्ती एपमा देखिन्छ । जसमा २८ शो क्यूएफएक्स चेनमा मात्र छ । 

‘जेरी अन टप’ र ‘बाहुबली : द एपिक’ले २ सयभन्दा बढी शो ‘होल्ड’ गर्दा ‘परान’ कम शोमा खुम्चिन बाध्य भएको हो । यद्यपि, ६४ शो न्यून भने होइन । यसमा ५० प्रतिशत मात्रै पनि अकुपेन्सी हासिल भएमा ओपनिङ सफल हुनेछ । फिल्म भावनात्मक सम्बन्धको कथामा आधारित भएकाले पारिवारिक दर्शकले साथ दिनेमा निर्माण टिम विश्वस्त छ ।

चर्चित हास्य कलाकार दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायतको अभिनय रहेको छ । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यले फिल्मको निर्माण गरेका हुन् ।