२०७९ सालमा सर्वाधिक कमाइको कीर्तिमान बनाएको फिल्म ‘जारी’को दोस्रो श्रृंखला कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । सफल फिल्मको सिक्वेल भएकाले हरेक उमेर समूहका दर्शकमा ‘जारी २’प्रति उच्च चासो र उत्सुकता देखिएको छ । दुई दिनअघि सार्वजनिक ट्रेलरले त्यसमा थप उत्साह भर्दै दर्शकहरूको पर्खाइ अझ बढाएको छ ।
युट्युबमा दुई दिनमा १० लाखभन्दा बढी भ्यूज प्राप्त भएको ट्रेलरमा प्रतिक्रियाहरू उत्साहजनक देखिएका छन् । कतिले फिल्मले बक्स अफिसमा नयाँ इतिहास रच्ने दाबी गरेका छन् भने कतिपयले कथावस्तु, अभिनय र संवादको प्रशंसा गरेका छन् । ट्रेलरले फिल्म उत्कृष्ट बनेको प्रमाण पेश गरेको भन्दै रिलिजकै दिन हलमा गएर ‘जारी २’ हेर्ने इच्छा पनि धेरैले प्रकट गरेका छन् ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय रहेको छ । ‘सङ अफ च्याब्रुङ’ उपशीर्षक राखिएको फिल्मका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।
रिलिजको १० दिनअघि नै केही मल्टीप्लेक्सहरूले ‘जारी २’को अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन् । यसले फिल्मप्रति हल व्यवसायीहरूको उच्च अपेक्षा स्पष्ट रूपमा देखाउँछ । दर्शकमा पनि फिल्मप्रति उच्च चासो देखिएकाले बक्स अफिसमा आक्रामक व्यापार हुने अनुमान गरिएको छ । यसको अघिल्लो श्रृंखलाले १७ करोड १७ लाखभन्दा बढीको व्यापार गरेको थियो ।

