
गत वर्ष व्यावसायिक रूपमा सफल ठहरिएको फिल्म ‘होस्टेल ३’ले हलमा ५१ दिने यात्रा पूरा गरेको थियो । यो उपलब्धि फिल्मले भारतमा पनि हासिल गरेको छ । सेप्टेम्बर ५ देखि भारतमा प्रदर्शन भएको फिल्मले मंगलबार दार्जिलिङको रिंक मलमा रहेको एसभिएफ सिनेमा हलमा ५१ दिन मनाएको हो । योसँगै दुई देशमा ५१ दिन मनाउने यो पहिलो नेपाली फिल्म बनेको छ ।
फिल्मलाई दार्जिलिङसहित सिक्किम, सिलगुडी, सिङ्ताम, गुवाहाटी, आसाम र मणिपुरका ५० भन्दा बढी हलमा एकैसाथ रिलिज गरिएको थियो । फिल्मले नेपाली भाषीको बाहुल्यता रहेको सिक्किम र सिलगुडी क्षेत्रमा पनि राम्रो व्यापार गरेको जनाइएको छ । भारतमा ‘होस्टेल ३’को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् ।
फिल्मका निर्देशक सशान कँडेलले भारतमा पनि प्रदर्शनको ५१ दिन पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामी धेरै जनाको पहिलो प्रयास थियो ‘होस्टेल ३’ । आर्थिक रूपमा पक्कै पनि धेरै कमाउन सकिएन होला । तर, माया अथाह कमाएका छौं । यही टिमको अर्को फिल्म आउँदा यिनीहरूले राम्रो फिल्म बनाउँछन् भन्ने भरोसा कमाएका छौं ।’
क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएर निर्माण भएको यो फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ । माधव शर्माको लेखन रहेको फिल्मका निर्माताहरू सुरेश कँडेल र गोविन्द अधिकारी हुन् ।

