Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वरिष्ठ बलराम’ले ५ दिनमा २ करोड कमाएको निर्माताको दाबी

फिल्मीखबर, काठमाडौं, 2025/10/28

baristha balaram

 

भाइटीकाको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’को ५ दिनको व्यापारिक आँकडा निर्माताले सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक एक पोस्टरमा फिल्मको व्यापार २ करोड उल्लेख छ । तर, सरकारी निकाय चलचित्र विकास बोर्डले हालसम्म यो फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक नगरेकाले यसको आधिकारिक तथ्यांक भने पुष्टि हुन बाँकी छ ।

फिल्मका निर्माता तथा वितरक आशिष एच. तामाङले ५ दिनको व्यापारबाट आफू सन्तुष्ट रहेको बताए । तिहार र छठको विदा सकिएपछि पनि फिल्मको अकुपेन्सी देशभर उत्साहजनक रहेको र कथावस्तुका कारण हलमा पारिवारिक दर्शकको चाप बढ्न थालेको उनको भनाइ छ । उनका अनुसार फिल्मको अकुपेन्सी राम्रो हुँदा केही हलले शो पनि बढाएका छन् ।

‘वरिष्ठ बलराम’का मुख्य पात्र दयाहाङ राई र विजय बरालको स्क्रिन केमेस्ट्रीलाई दर्शकले विशेष मन पराएका छन् । फिल्मको कथा, संवाद, र गीत (न्याउली वनैमा) पनि उतिक्कै रुचाइएको छ । फिल्म हेर्ने प्रायःले यसमा मनोरञ्जनसँगै सामाजिक सन्देश रहेको प्रतिक्रिया दिएका छन् । कतिपयले ‘माटो सुहाउँदो कथा’ भन्दै फिल्मको प्रशंसा गरेका छन् ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ र विजयसहित समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन छ भने महेश दवाडीले पटकथा र संवाद तयार पारेका हुन् । फिल्मले दुई पात्रबीचको अस्तित्वको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।