
फिल्म ‘सनम तेरी कसम’बाट चर्चामा आएका अभिनेता हर्षवर्धन राणेको नयाँ लभस्टोरी फिल्म ‘एक दीवाने की दीवानियत’ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । दीपावलीको अवसर पारेर २१ अक्टोबरबाट प्रदर्शनमा आएको यो फिल्मले ६ दिनमा नै लगानी सुरक्षित गरेर यस वर्षको हिट सूचीमा आफ्नो स्थान पक्का गरेको छ ।
१० करोडको सानदार ओपनिङ गरेको यस फिल्मले ६ दिनमा ४१ करोड नेट कमाइ गरेको ट्रेड ट्रयाकिङ अनलाइन स्याक्निल्कले जनाएको छ । जबकि, फिल्मको लागत भारू २५ करोड हो । फिल्मले तेस्रो दिनमा नै लागत बराबरको कमाइ गरेको थियो । सोमबार भारतमा छठ पर्वको विदा रहेकाले फिल्मको एक साताको व्यापार ५० करोड पुग्ने प्रक्षेपण गरिएको छ ।
ठूलो बजेट र बलियो स्टारकास्ट रहेको हरर-थ्रिलर फिल्म ‘थामा’को बक्स अफिसमा आक्रामक प्रदर्शनका बाबजुद ‘एक दीवाने की दीवानियत’ले गरेको कमाइलाई उत्कृष्ट मानिएको छ । यो फिल्मको सफलताको मुख्य आधार हर्षवर्धन राणेको क्रेज र गीतको लोकप्रियता रहेको समीक्षकहरूको विश्लेषण छ । विशाल मिश्राले गाएको फिल्मको ‘दीवानियत’ गीत यतिबेला चर्चामा छ ।
मिलप झवेरीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हर्षवर्धनले विक्रमा दित्य भोन्सलेको भूमिका निभाएका छन् भने उनको जोडी सोनम बाजवासँग बाँधिएको छ । उनीहरूबीचको प्रेममा आउने उतारचढावमा आधारित यस फिल्ममा शाद रन्धावा, सचिन खेडेकर, अनन्त महादेवन, राजेश खेडा लगायतको पनि अभिनय रहेको छ ।

