.jpg)
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘जारी २’को ट्रेलर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसरमा सोमबार सार्वजनिक झन्डै चार मिनेट लामो ट्रेलरले श्रीमान्–श्रीमतीको झगडाले निम्त्याउने पारिवारिक जटिलतालाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान च्याब्रुङको महत्वलाई पनि केन्द्रमा राखिएको छ ।
फिल्ममा दयाहाङ राई र मिरुना मगर श्रीमान्–श्रीमतीको भूमिकामा छन् । ट्रेलरको सुरूमा उनीहरूको सम्बन्ध प्रेमपूर्ण देखिनुका साथै पारिवारिक सन्तुलन राम्रो देखिन्छ । तर, क्रमशः झगडा र मनमुटाव बढ्दै जाँदा पारिवारिक विग्रह उत्पन्न हुन्छ । फिल्मले विवाहिक जीवनका चुनौतीलाई मुख्य कथावस्तुको रूपमा प्रस्तुत गरेको संकेत ट्रेलरले दिएको छ ।
‘सङ अफ च्याब्रुङ’ उपशीर्षक राखिएको यो फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु, मनहाङ लावोटी लगायतले अभिनय गरेका छन् । कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म २०७९ सालमा ब्लकबस्टर बनेको ‘जारी’को सिक्वेल हो ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । फिल्मका निर्माताहरू रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् । कार्यकारी निर्मातामा सागर राज रहेका छन् ।

