भाइटीकाको दिन (कात्तिक ६ गते)बाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहँदा यसमा समावेश गीत ‘न्याउली वनैमा’ले युट्युबमा ठूलो उपलब्धि हासिल गरेको छ । गत असोज ८ गते रिलिज भएको यो गीतलाई एक महिनामा एक करोडभन्दा बढीले हेरेका छन् । युट्युबमा गीतको यो उपलब्धि टिकटकका कारण सम्भव भएको हो ।
‘न्याउली वनैमा’ गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेका छन् । जसले गर्दा दर्शकलाई युट्युबमा खोजी-खोजी गीत हेर्न बाध्य बनायो । तिहारमा देउसी-भैलोमा पनि यही गीत सर्वाधिक घन्किँदा युट्युबमा भ्यूज ह्वात्तै बढेको थियो । तिहारको समयमा मात्र गीतमा ३५ लाख बढी भ्यूज थपियो । तिहारअघि युट्युबमा गीत हेर्नेको संख्या ६५ लाख आसपास थियो ।
‘न्याउली वनैमा’ गीत लोकप्रिय हुँदा फिल्मको व्यापारमा पनि ठूलो फाइदा पुगेको छ । कतिपय दर्शकलाई हलमा फिल्म हेर्न गीतले नै आकर्षित गरेको छ । फिल्मका कलाकारहरू पनि हल–हलमा पुगेर यही गीतमा नृत्य गर्दै दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । दर्शकमाझ यो गीतको तेस्रो अन्तरा ‘न्याउली वनैमा, हितैको मायालाई राखे मनैमा’ बढी चर्चित छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मले दुई पात्रबीचको अस्तित्वको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।

