.jpg)
भाइटीकाको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ले दर्शकको राम्रो साथ पाएको छ । पहिलो दिन देशभर ६०-६५ प्रतिशत अकुपेन्सी हासिल गरेको फिल्मले सकारात्मक ‘वर्ड अफ माउथ’का कारण दोस्रो दिन पनि हलमा उत्साहजनक दर्शक तानेको छ । शुक्रबार तिहारको विदा नै भएकाले फिल्मका धेरैजसो शो विहानैदेखि भरिएका थिए ।
निर्माता आशिष एच तामाङले काठमाडौंसहित चितवन, धरान, बुटवल, नेपालगन्ज, पोखरा, विराटनगर लगायतका मुख्य सहरमा शुक्रबार फिल्मले उत्साहजनक दर्शक पाएको बताए । शुक्रबार अकुपेन्सीमा वृद्धि भएपछि केही हलहरूले शो समेत बढाएको उनको भनाइ छ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त भएकाले फिल्मले आगामी दिनमा पनि सुखद् व्यापार गर्ने उनको विश्वास छ ।
फिल्मका दुई मुख्य पात्र दयाहाङ राई र विजय बरालको स्क्रिन केमेस्ट्री, संवाद, कथा र प्रस्तुतिलाई दर्शकले विशेष मन पराएका छन् । फिल्म हेरेर निस्किएका प्रायःले ‘वरिष्ठ बलराम’ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिएको प्रतिक्रिया दिएका छन् । कतिपयले ‘माटो सुहाउँदो कथा’ भन्दै फिल्मको प्रशंसा गरेका छन् ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ र विजयसहित समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन छ भने महेश दवाडीले पटकथा र संवाद तयार पारेका हुन् । फिल्मले दुई पात्रबीचको अस्तित्वको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।

