
दशैंयता हलहरूमा नेपाली र विदेशी फिल्मको ठूलो चाप देखिएको छ । अहिले ‘कान्तारा’, ‘जेरी अन टप’, ‘थामा’सहित झन्डै एक दर्जन फिल्म प्रदर्शनरत छन् । यस्तैमा भाइटीकाको दिन पारेर बिहीबारदेखि हलमा दुई नयाँ फिल्म थपिएका छन् । ती हुन्, ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ । फरक कथावस्तुमा बनेका यी फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ ।
दुई फिल्मले देशव्यापी कुल १३६ शो पाएका छन् । जसमा ‘वरिष्ठ बलराम’को ८२ शो र ‘सोल्टिनी’को ५४ शो छ । ११ बजेर ३९ मिनेटमा भाइटीकाको साइत रहेकाले प्रायः हलले १२ बजेपछि मात्र शो उपलब्ध गराएका छन् । तर, दुवै फिल्मको टिकट बुकिङ अपेक्षित स्तरमा नदेखिएकाले अब दर्शकीय आकर्षण बढाउन बलियो ‘वर्ड अफ माउथ’को आवश्यकता देखिन्छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी लगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मले दुई पात्रबीचको अस्तित्वको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।
अन्तरजातीय प्रेमकथामा आधारित ‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । यसमा प्रकाश सपूत, परीक्षा लिम्बू, विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, सुन्दर धिताल लगायतको अभिनय रहेको छ । रेजिना बिस्ट र संसार चौलागाईँ फिल्मका निर्माता हुन् । यसमा अर्जुन सुवेदी र कुमार भट्टराईको कथा तथा पटकथा लेखन छ ।

