
भोलि भाइटीकाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’को नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ । फिल्म रिलिजको एक दिनअघि सार्वजनिक यस गीतमा एसडी योगी र बेनिशा पौडेलको स्वर रहेको छ भने शब्द तथा संगीत प्रशान्त सिवाकोटीको हो । गीतमा प्रेममा रहेका जोडीले एकअर्काप्रति व्यक्त गरेका भावनालाई प्रस्तुत गरिएको छ ।
शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बू चित्रित छन् । उनीहरूबीचका प्रेमिल दृश्यहरू समावेश भिडियोमा किराँत राई समुदायको संस्कृति पनि झल्काउने प्रयास गरिएको छ । फिल्ममा प्रकाश र परीक्षाबीचको अन्तरजातीय प्रेमलाई मुख्य कथावस्तु बनाइएको छ ।
‘सोल्टिनी’को टिमले यतिबेला देशभरका विभिन्न सहरहरूमा देउसी-भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरिरहेको छ । कात्तिक २ गते झापाको दमक, कात्तिक ३ गते धरान र कात्तिक ४ गते पोखरामा देउसी-भैलो आयोजना गरिएको थियो, जसमा फिल्मका कलाकारहरूसहितको टिम सहभागी थियो । अब काठमाडौंमा देउसी-भैलो आयोजना गरिने जनाइएको छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको ‘सोल्टिनी’मा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले लगायतको पनि अभिनय रहेको छ । अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्मले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई चित्रण गरेको छ ।

