
‘छड्के’का निर्देशक निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’ माघे संक्रान्तिको दिनदेखि प्रदर्शनमा आउने भएको छ । तिहारको अवसर पारेर सोमबार निर्माण पक्षले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै माघ १ गतेलाई प्रदर्शन मिति तय गरेको हो । यो मितिमा अन्य दुई फिल्म ‘गोबर गणेश’ र ‘मिरमिरे’ पनि प्रदर्शनमा आउँदैछन् ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य जोडी सौगात मल्ल र सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ । मोबाइलको फ्रेमभित्र रहेका उनीहरू रोमान्टिक मुद्रामा देखिएका छन् । पोस्टरको छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ, जसले सौगात र सृष्टिबीचको प्रेमलाई दर्शाउँछ । ब्रेकअपपछि उनीहरूले एकसाथ काम गरेको यो पहिलो फिल्म हो ।
नेपालमा विकृतिको रूपमा मौलाएको भाइरल प्रवृत्तिलाई व्यंग्य गर्ने ‘भाइरल गोर्खे’मा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय रहेको छ । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माताहरू अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् ।
अमर महर्जनको सिनेमाटोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अमित श्रेष्ठको साउन्ड डिजाइन तथा बन्दे प्रसाद, रवि चौधरी र भीम विश्वकर्माको सम्पादन रहेको फिल्ममा शुभेक्षा पौडेल, भुवन अधिकारी र निखिल पौडेल सह-निर्मातामा छन् । भाइरल प्रवृत्तिको पछि लाग्दाको प्रभाव र असरको परिणामलाई फिल्मले देखाउने जनाइएको छ ।

