Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वरिष्ठ बलराम’बारे के भन्छन् दयाहाङ र विजय ?

फिल्मीखबर, काठमाडौं, 2025/10/19

dayahang rai and bijay baral

 

अभिनेता द्वय दयाहाङ राई र विजय बरालले धेरै फिल्ममा सहकार्य गरिसकेका छन् । त्यसमध्ये ‘कबड्डी’ श्रृंखलामा उनीहरूको केमेस्ट्री निकै रूचाइयो । प्रायः फिल्ममा साथीको भूमिकामा देखिएका उनीहरू नयाँ फिल्म ‘वरिष्ठ बलराम’मा भने प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत भएका छन् । यसमा दयाहाङले ठेकेदारको भूमिकामा निभाएका छन् भने उनलाई चुनौती दिने पात्रमा विजय छन् ।

यो फिल्ममा दयाहाङको गेटअप भिन्न देखिन्छ । प्रायः फिल्ममा गाउँले र दुःखी चरित्रमा देखिने उनी यसमा शहरिया धनी पात्रको भूमिकामा छन् । यसैले फिल्ममा उनले कोट−पाइन्ट बढी लगाएका छन्, जुन ट्रेलरमा पनि देखिन्छ । उनी ‘वरिष्ठ बलराम’मा दर्शकले आफ्नो गेटअपमा फरकपन पाउने बताउँछन् । सुरूमा फिल्मको स्क्रिप्ट पढ्दा भने उनले यस्तो गेटअप सोचेका थिएनन् ।

दयाहाङ भन्छन्, ‘पहिलो पटक स्क्रिप्ट पढ्दा मैले यस्तो गेटअप कल्पना गरेको थिइनँ । निर्देशकले सुट र टाइमा ठाँटिएर हिँड्ने क्यारेक्टर हो भनेपछि त्यसमा म पनि तयार भएँ । भित्री पक्ष अर्कै भए पनि बाहिर ‘म वरिष्ठ हुँ’ भनेर आडम्बर देखाउने पात्र भएकाले यो गेटअप ठीक हो भन्ने लाग्यो ।’ चितवनको प्रचण्ड गर्मीमा कोट लगाएर काम गर्न भने गाह्रो भएको उनको अनुभव छ ।

फिल्ममा बलरामको भूमिकामा रहेका विजय आफ्नो चरित्र लोकप्रिय हुनेमा आशावादी देखिन्छन् । तर, ‘पूर्णबहादुरको सारङ्गी’को ‘पूर्णे’ क्यारेक्टर अत्याधिक रुचाइएकाले त्यसलाई उछिन्न भने सजिलो नहुने उनको भनाइ छ । भन्छन्, ‘पूर्णे र बिकेको चरित्रबाट दर्शकले मलाई चिन्नुभयो । त्यो छविलाई भत्याएर अर्को सेट गर्न सहज भने छैन । तर, कहिलेकाँही सामान्य कुरा नै धेरै रुचाइन्छ ।’

भाइटीकोको दिन (कात्तिक ६ गते)बाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, माओत्से गुरुङ, पशुपति राई, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पिके डन), रामबाबु रेग्मी, कमल देवकोटा, सन्तोष गिरी, विजया अधिकारी लगायतले पनि अभिनय गरेका छन् । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्ममा उनी स्वयंको कथा तथा सम्पादन छ ।