
शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले काग तिहारको अवसर पारेर आइतबार फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । गत अगस्टमा अष्ट्रेलियाका मेलबर्न, ब्रिसबेन, सिड्नी, न्यूक्यासल लगायतका सहरमा फिल्मको विशेष प्रदर्शन भइसकेको छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा नीर शाह, गौरी मल्ल, दिक्पाल कार्की, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा लगायतको अभिनय रहेको छ । अष्ट्रेलियन पीआर (स्थायी बसोबास अनुमति)का लागि नेपाली विद्यार्थीहरुले गर्ने संघर्षको कथामा फिल्म आधारित छ ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्मका निर्माताहरू लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । यसमा निर्देशक बस्नेत स्वयंको कथा छ भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन् । फिल्ममा सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन, बन्दे प्रसादको सम्पादन तथा मानस राज र भीम बीसीको संगीत रहेको छ ।
निर्देशक बस्नेतले फिल्ममा विदेश बस्ने नेपाली युवाहरूको यथार्थ चित्रण गरिएको बताए । उनले भने, ‘हामीले विदेश बस्नेहरूले गगनचुम्बी भवन र महँगा गाडीको अगाडि खिचेको सेल्फी देखेका होलाउँ, तर त्यहाँ उहाँहरूलाई कस्तो दुःख छ भनेर देखेका हुँदैनौं । मैले फिल्ममा विदेश बस्नेहरूको संघर्ष र नेपालमा बस्ने परिवारले गर्नुपर्ने दायित्वलाई देखाउन खोजेको छु ।’

