अभिनयमा पारंगत मानिने कलाकार नीर शाहले आफ्नो ६ दशक लामो करिअरमा लोभीदेखि दयालु, धनाड्यदेखि प्रहरीसम्मका विभिन्न भूमिकामा जीवन्त अभिनय गरेका छन् । अब उनी नयाँ फिल्म ‘परान’मा बाबुको भूमिकामा देखिँदैछन् । भूमिका बुबाको भए पनि उनी फिल्मका मुख्य पात्र हुन्। अर्थात् कथाको केन्द्रमा नै उनी छन् । यो फिल्म कात्तिक १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
उनले ‘परान’मा निभाएको धर्मनाथ पात्रको चरित्रलाई आफ्नो परीक्षाको रूपमा लिएका छन् । जीवनमा यसप्रकारको भूमिका पनि गर्नुपर्छ भनेर फिल्ममा जोडिएको उनको भनाइ छ । शनिबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘यसप्रकारका अवसर बारम्बार प्राप्त हुँदैनन् । यसैले प्राप्त भएको अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ, जुन आफ्नै लागि पनि ठूलो परीक्षा होस् ।’
उनले ‘परान’मा धर्मनाथको चरित्र आफ्नो अगाडि परीक्षा बनेर उभिएको र त्यो परीक्षा निष्ठापूर्वक दिने प्रयास गरेको स्मरण गरे । ‘कुनै पनि चरित्र गर्दा कलाकारले जुन मात्राको इमानदारिता र निष्ठाको प्रयोग गर्नुपर्छ, त्यो मैले यसमा प्रयोग गरेको छु । मेरो ६० वर्ष लामो अभिनय करिअरमा केही परियोजनाहरूलाई अत्यन्त गम्भीरताका साथ लिएँ । त्यसमा एक ‘परान’ पनि हो,’ शाहले भने ।
यो फिल्म आफ्नो लागि पाठशाला गएजस्तै भएको उनको अनुभव छ । फिल्मका कलाकारहरूले आफूलाई धेरै कुरा सिकाएको उनले बताए । यसमा उनीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली लगायतको पनि अभिनय रहेको छ । दीपक आचार्यको निर्देशनमा बनेको फिल्ममा रञ्जित आचार्य र शेखर गोल्छा निर्मातामा छन् ।

