
अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीले पहिलो पटक फिल्ममा सहकार्य गर्ने भएका छन् । फिल्म ‘कस्तुरी’मा उनीहरूको जोडी बाँधिन लागेको हो । तिहारको अवसर पारेर आइतबार निर्माण घोषणा गरिएको यो फिल्मलाई ऋत बोहोराले निर्देशन गर्नेछन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसमा उनी स्वयंको कथा छ ।
सस्पेन्स थ्रिलर विधामा बन्ने यो फिल्मको निर्माण धीरज अग्रवालले गर्नेछन् । खाद्य, प्लास्टिक, स्टिललगायत पाँचभन्दा बढी उद्योग सञ्चालन गर्दै आएका उनले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् । उनको कम्पनी टेन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने ‘कस्तुरी’मा अञ्जली चौधरी सह-निर्मातामा छिन् ।
ब्रजेश खनालको लेखन रहेको फिल्ममा निखिल र वर्षासहित निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं, निर्मल शर्मा लगायतको पनि अभिनय रहनेछ । आलोक शुक्लाको छायांकन र प्रशान्त सिवाकोटीको संगीत रहने फिल्मको छायांकन आगामी मंसिरमा काठमाडौंबाट हुनेछ । फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्र जस्ता विषय समेट्ने जनाइएको छ ।

