
संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखिएको पोस्टरमा आँसु र हाँसोको मिश्रण देखिन्छ । अशोक ओठमा हाँसोसहित आँखाबाट अश्रुधारा बगाउँदै देखिएका छन् । यसले फिल्ममा अशोकको संघर्ष र सफलताको कथा रहेको संकेत गर्छ ।
पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झालाई पनि देख्न सकिन्छ । बुद्दि सेक्युरिटी गार्डको पोशाकमा देखिएका छन् भने नीतासहितका कलाकारहरू गम्भीर मुद्रामा चित्रित छन् । पोस्टरमार्फत पात्रहरूको मनोदशालाई प्रस्तुत गरिएको निर्देशक बुढाथोकीले बताए ।
‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।
कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् । सपना शर्मा कार्यकारी निर्माता हुन् ।

