.jpg)
अभिनेता अनमोल केसीले करिब डेढ वर्षपछि पर्दामा उपस्थिति जनाएका छन् । गत वर्षको जेठमा प्रदर्शन भएको फिल्म ‘फर्की फर्की’पछि उनी पर्दामा देखिएका थिएनन् । शुक्रबारबाट उनको नयाँ फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा आएको हो । यो फिल्म त्रिकोणात्मक प्रेम र सगरमाथा आरोहणको कथामा आधारित छ । फिल्मको टिजर र ट्रेलरमा उच्च मेकिङ देखिएको छ ।
सुयोग गुुरुङको निर्देशनमा बनेको यो फिल्मले देशभर २ सय बढी शो पाएको छ । प्राप्त शोमा टिकट बुकिङ पनि राम्रो देखिएको छ । बिहानी शोमा फिल्मले देशभर ५० प्रतिशत हाराहारी अकुपेन्सी कायम गरेको छ, जुन उत्साहप्रद हो । अब दर्शकीय प्रतिक्रिया सकारात्मक प्राप्त भए फिल्मले दिउँसोबाट व्यापारिक गति बढाउने निश्चित छ ।
अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोलसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय रहेको छ । अनमोलले पहिलो पटक पिता भुवनसँग फिल्ममा ‘स्क्रिन सेयर’ गरेका हुन् । फिल्ममा पनि उनीहरू पिता-पुत्रकै भूमिकामा छन् । भुवनको श्रीमतीको भूमिका उषाले निभाएकी छन् ।
सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्मातामा छन् । यसमा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, विश्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत तथा सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

