
अभिनेत्री अञ्जना बराइलीले फिल्मी करिअर सुरू गरेको जम्माजम्मी ३ वर्ष मात्र भयो । २०७९ सालमा प्रदर्शन भएको फिल्म ‘महापुरुष’बाट उनले डेब्यु गरेकी थिइन् । पहिलो फिल्म नै सफल भएपछि उनले करिअर फर्केर हेर्नु परेको छैन । उनको मुख्य भूमिका रहेका ‘पूर्णबहादुको सारङ्गी’ र ‘पूजार सार्की’ले पनि सफलता प्राप्त गर्दा यतिबेला फिल्ममा उनको व्यस्तता चुलिएको छ ।
उनै, अञ्जनाको नयाँ फिल्म ‘परान’ कात्तिक १४ गतेबाट प्रदर्शनमा आउँदैछ । हालै सार्वजनिक भएको फिल्मको काव्यात्मक टिजर हेर्दा उनी बुहारीको भूमिकामा रहेको देखिन्छ । उनी यो फिल्म आफूले सिनको संख्या हेरेर छनोट नगरेको बताउँछिन् । फिल्मको कथाले आकर्षित गरेपछि अभिनय गर्न तयार भएको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘म यसमा जोडिनुको एउटा मुख्य कारण यसको कथा हो । यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ । यसमा जति काम भएको छ, त्यो एकदमै राम्रो भएको छ । म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु । डबिङको समयमा नै मैले निर्देशकलाई यो फिल्म त दशैंमा नै रिलिज गर्नुपर्छ भनेकी थिएँ, जबकि प्रायः म यस्तो भन्दिनँ ।’
अञ्जनाका अनुसार दशैं पारिवारिक चाड भएकाले पारिवारिक फिल्म हेर्न चाहने दर्शकहरूलाई उपयुक्त हुने भएकै कारण उनले फिल्मलाई दशैंमा रिलिज गर्न सुझाव दिएकी थिइन् । भन्छिन्, ‘यो फिल्म जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडपर्वमा रिलिज गर्नु बढी उपयुक्त हुन्छ । तर, हामीले दशैं र तिहार दुवै सकिएपछि रिलिज गर्न लागेका छौं ।’
फिल्ममा नीर शाह कथाको केन्द्रमा भए पनि आफ्ना भूमिकालाई पनि दर्शकले सम्झिनेमा उनी विश्वस्त छिन् । आफ्नो पात्रबारे उनी भन्छिन्, ‘फिल्ममा म मिजासिलो पात्रमा छु । यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ । मेरो पात्र एकदमै यादगार हुने देख्छु । मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ । नीर शाहपछि दर्शकको नजरमा म पनि पर्छु ।’
‘परान’लाई ‘काकु’को रुपमा परिचित दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा पटकथा र संवाद यम थापाले तयार पारेका हुन् । शेखर गोल्छा र रञ्जित आचार्य निर्माता रहेको फिल्ममा अञ्जनासहित नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको पनि अभिनय समावेश छ ।

