
आगामी कात्तिक २८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘धागो’को नयाँ गीत ‘मेरो सम्झना’ सार्वजनिक गरिएको छ । गीतमा पुष्पन प्रधानको स्वर तथा संगीत रहेको छ भने गायनमा करुणा अधिकारीले साथ दिएकी छन् । गीतले फिल्मको भावनात्मक आयामलाई उजागर गर्दै पारिवारिक सम्बन्धका संवेदनशील पक्षलाई दर्शाउने प्रयास गरेको छ ।
भिडियोमा फिल्मका मुख्य जोडी सुरक्षा पन्त र प्रभात थापाबीचको उतारचढावपूर्ण सम्बन्धलाई प्रस्तुत गरिएको छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका उनीहरूको सम्बन्धमा कुनै घटनापछि तिक्तता आएको देखिन्छ । भिडियोका दृश्यहरूले फिल्मको मूल कथा परिवारभित्रको सम्बन्ध कमजोर हुँदा उत्पन्न हुने संवेदनशील परिस्थितिमा केन्द्रित रहेको देखाउँछन् ।
नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको यो फिल्मका निर्देशन उदिप राणा थापाले गरेका हुन् । फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको फिल्मका निर्माताहरु निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन् । फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन र सांस्कृतिक सम्बन्धलाई कथाको केन्द्रमा राखेको जनाइएको छ ।
बलिउडका अनिकेर एम. घोघको छायांकन र अखिलेश रायको सम्पादन रहेको फिल्ममा सुरक्षा र प्रभातसँगै सुरभि थापा (मिस नर्थ इस्ट भारतकी विजेता), बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ लगायतको अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेत्री वर्षा राउतले नृत्य गरेकी छन् ।

