Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मैझारो’को ट्रेलरमा प्रेम र संघर्षको कथा

फिल्मीखबर, काठमाडौं, 2025/10/14

Dhiraj Magar, Miruna Magar

 

कलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै चार मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु, परिवेश र पात्रको संघर्षलाई देखाएको छ । अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरलाई केन्द्रमा राखिएको ट्रेलरमा प्रेम प्राप्तिका लागि गरेको संघर्षलाई प्रमुख कथावस्तुको रूपमा चित्रण गरिएको छ । 

ट्रेलरमा धीरजप्रति मिरुनाको अगाध प्रेम देखिन्छ । धीरजले भने कुनै बाध्यताका कारण प्रेम व्यक्त गर्न सकेका छैनन् । उनीप्रति दीया पुन पनि आकर्षित छिन् । उनीहरूबीचकै प्रेम र आकर्षणमा केन्द्रित रहेको ट्रेलरमा लिम्बू संस्कृतिको पनि झलक देखिन्छ, जसले कथामा सांस्कृतिक आयाम थपेको छ । फिल्मको कथा भन्न संवादले पनि ठूलो भूमिका खेलेको छ । 

ट्रेलरको सबैभन्दा रोचक पक्ष चाहिँ दयाहाङ राई र विल्सन विक्रम राईको उपस्थिति हो । पेशाले फौजी रहेका विल्सन विवाह गर्ने योजनासहित गाउँ फर्केपछि कथामा द्वन्द्व सिर्जना भएको देखिन्छ । दयाहाङ भने ट्रेलरको अन्तिममा देखिन्छन्, जसले फिल्मको कथामा नयाँ मोडको संकेत गर्छ । इलामका मनमोहक दृश्यले ट्रेलरलाई आकर्षक तुल्याएको छ ।

तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्मका निर्माताहरू डिबी राई र सरिना लामा राई हुन् । यो फिल्म आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।