.jpg)
आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गदै दर्शकमाझ ल्याइएको ट्रेलरले अन्तरजातीय प्रेममा आउने पारिवारिक र सामाजिक अवरोधको कथा पेश गरेको छ । ट्रेलरको केन्द्रमा फिल्मका मुख्य जोडी प्रकाश सपूत र परीक्षा लिम्बू छन् ।
ट्रेलर अनुसार प्रकाश र परीक्षा एकअर्काको प्रेममा छन् । तर, जातीय पृष्ठभूमि अलग हुँदा उनीहरूको सम्बन्ध संकटमा पर्छ । परिवारले परीक्षालाई अर्कै युवकसँग विवाह गर्न बाध्य बनाएपछि उनी परिवार र प्रेममा कुन रोज्ने भन्ने दोधारमा परेकी देखिन्छिन् । फिल्मले प्रेम र जातीय मूल्य मान्यताबीचको टकरावलाई केन्द्रीय द्वन्द्वको रूपमा प्रस्तुत गरेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
अर्जुन सुवेदीले निर्देशनमा बनेको यो फिल्ममा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय रहेको छ । प्लानेट थ्रीको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका हुन् ।
यो फिल्मको कार्यकारी निर्मातामा धरानका मेयर हर्क राई (साम्पाङ)ले नेतृत्व गरिरहेको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ रहेको छ । रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ । फिल्मले जातीय भेदभावविरूद्ध सशक्त आवाज उठाउने जनाइएको छ ।

