पछिल्लो समय फिल्मको भाव दर्शकसम्म पुर्याउन कविता वाचनको प्रयोग बढ्दै गएको छ । ‘भूठान’ र ‘रियाल रिङ्गेट’ जस्ता फिल्मले यो अभ्यास गरिसकेको अवस्थामा कात्तिक १४ गते प्रदर्शनमा आउने फिल्म ‘परान’को टिजर पनि काव्यात्मक शैलीमा तयार पारिएको छ । फिल्मका मुख्य अभिनेता नीर शाहको जन्मदिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरिएको हो ।
कवि नवराज पराजुलीको लेखन र कविता वाचन समावेश टिजरमा बाबु-छोराबीचको आशा, भरोसा, माया, र जिम्मेवारीको भाव प्रस्तुत गरिएको छ । कविताको माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरेका छन् । टिजरमा नीर शाह गम्भीर मुद्रामा देखिएका छन् ।
‘सासले हैन, साथले चल्ने’ ट्यागलाइन राखिएको यो फिल्मलाई दीपक प्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशकीय फिल्म हो । देशको प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारी रहेको फिल्मका निर्माताहरू शेखर गोल्छा र रञ्जित आचार्य हुन् । उद्योगपछि शेखरले यही फिल्मबाट निर्माणमा हात हालेका हुन् ।
निर्देशक आचार्यको कथा तथा यम थापाको पटकथा तथा संवाद रहेको फिल्ममा नीर शाहसहित मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ लगायतले पनि अभिनय गरेका छन् । यो फिल्ममा शिवराम श्रेष्ठको डिओपी, मित्र डि गुरुङको सम्पादन तथा गगन थापा मगरको ब्याकग्राउन्ड स्कोर रहेको छ ।

