
फिल्म ‘फर्की फर्की’बाट डेब्यु गरेकी अभिनेत्री समृद्धि अर्यालको दोस्रो फिल्म ‘वरिष्ठ बलराम’ भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी अभिनेता विजय बरालसँग बाँधिएको छ । ट्रेलर हेर्दा फिल्ममा उनी रिसाहा स्वभावकी युवतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । ट्रेलरमा उनले विजयलाई थप्पड हानेको दृश्य समेत छ ।
फिल्मलाई लिएर उत्साहित रहेकी उनी यसमा आफू प्रभावशाली भूमिकामा रहेको दाबी गर्छिन् । हालै पत्रकारसँगको कुराकानीमा उनले भनिन्, ‘फिल्ममा मेरो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुन्छ । म जहाँजहाँ आउँछु, त्यहाँ प्रभावशाली भूमिका छ भन्ने लाग्छ । दुई मुख्य क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।’
फिल्ममा दयाहाङ राई र विजय जस्ता अग्रज कलाकारसँग काम गर्न पाएकोमा समृद्धि आफूलाई भाग्यमानी ठान्छिन् । तर, सुरुमा फिल्मबाट अफर आउँदा भने उनले संकोच मानेकी थिइन् । भन्छिन्, ‘फिल्मका लागि अफर आउँदा दयाहाङ र विजय जस्ता अग्रज कलाकारसँग काम गर्न सक्छु र भन्ने भएको थियो । तर, पछि यो काम सिक्ने मौका पनि हो भनेर स्वीकार गरेँ ।’
उनले ‘वरिष्ठ बलराम’मा आफू ‘शो पिस’ मात्र नरहेको स्पष्ट गरेकी छिन् । दुई अनुभवी कलाकारको बीचमा पनि आफ्नो भूमिकाले महत्त्वपूर्ण उपस्थिति जनाउने उनको विश्वास छ । फिल्ममा कुशुमको भूमिकामा रहेकी उनी भन्छिन्, ‘बलराम पात्रलाई सहयोग गर्ने प्रभावशाली भूमिकामा छु । मेरो फिल्म करिअरको यात्रामा यो क्यारेक्टरले सहयोग गर्छ भन्नेमा विश्वस्त छु ।’
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीलगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की फिल्मका निर्माता हुन् ।

