
पछिल्ला वर्षहरूमा फिल्मको निर्माण लागत असामान्य रूपमा बढेको छ । केही वर्षअघिसम्म ५०/६० लाखमा फिल्म नै बन्थ्यो । अहिले स्थापित कलाकारलाई लिएर फिल्म बनाउँदा ५ करोडले पनि नपुग्ने अवस्था आएको छ । लागत बढेसँगै निर्माताहरूलाई लगानी उठाउनै हम्मे-हम्मे परेको छ । यसैले लामो समयदेखि फिल्मको निर्माण लागत घटाउनुपर्ने विषयमा बहस हुँदै आएको छ ।
यसपालिको दशैंमा प्रदर्शन भएका तीन फिल्म ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ले पनि लगानी उठाउन नसक्ने अवस्था देखिएपछि निर्माता तथा कलाकार युवराज लामाले अब फिल्मको निर्माण लागतमा अनुशासन ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । अहिलेको अवस्थामा २ करोडदेखि अधिकतम साढे २ करोडभित्र फिल्म बनाउँदा लगानी उठाउन सकिने उनको बुझाइ छ ।
‘माइतीघर’का कलाकार समेत रहेका उनले आइतबार फेसबुकमा निर्माताहरूलाई सुझावसहितको एक पोस्ट लेख्दै भनेका छन्, ‘नेपाली फिल्म उद्योगमा लामो समय टिक्न चाहने निर्माताहरूले आफ्नो निर्माण लागतमा अनुशासन ल्याउन आवश्यक छ । औसत रूपमा फिल्म निर्माण र प्रदर्शन खर्च २ करोडदेखि अधिकतम २.५० करोडभित्र सीमित राख्न सकेमा लगानी सुरक्षित रहन सक्छ ।’
कलाकार लामाले ५ करोड पनि कमाउन नसकेका दशैंका तीन फिल्मका निर्माताले हिट दाबी गरेकोप्रति पनि व्यंग्य गरेका छन् । ‘२०८२ सालको दशैंमा प्रदर्शन भएका फिल्महरूको बक्स अफिस रिपोर्टले स्पष्ट देखाउँछ कि अहिलेसम्म कुनै फिल्मले पनि ५ करोडको ग्रस रेखा पार गर्न सकेका छैनन् । यद्यपि, सबै निर्माताहरुको दाबी एउटै सुन्निन्छ, फिल्म हिट भयो,’ उनले लेखेका छन् ।

