Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालको पुस्तक लोकार्पण, भन्छन्, ‘कसैलाई नभनेका कुरा पनि खुलाएको छु’

फिल्मीखबर, काठमाडौं, 2025/10/11

rajesh hamal

 

अभिनेता राजेश हमालको जीवन, सिनेमा र समाजका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित एक कार्यक्रमका बीच हमालसहित उनकी पत्नी मधु भट्टराई, उपन्यासकार बुद्धिसागर र लेखक यज्ञशले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् । 

हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’बाटै नाम राखिएको यस पुस्तकमा उनको जीवनयात्रा, फिल्मसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरू समेटिएका छन् । फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको यो पुस्तकलाई ‘भुइयाँ’का लेखक यज्ञशले लेखेका हुन् । फिल्म समीक्षक समेत रहेका उनले हमालसँग गरेको संवादमा पुस्तक आधारित छ । 

कार्यक्रममा २५ जनालाई आफ्नो हस्ताक्षरसहितको पुस्तक प्रदान गर्दै हमालले यसमा फिल्म, समाज र राजनीतिसँग सम्बन्धित विषयसँगै आफूले कसैलाई नभनेका गोप्य कुराहरू पनि खुलाएको बताए । ‘यसमा मेरो बाल्यकालदेखि परिवारका पनि कुरा छन्,’ उनले भने, ‘यो पुस्तक पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवन फेरि फर्केर हेरेको र त्यही जीवन पुनः जिएको जस्तो महसुस हुन्छ ।’

त्यस्तै, लेखक बुद्धिसागरले राजेश हमाललाई हजारौं अन्तर्वार्तामा सोधिएका प्रश्नकै पेरिफेरिमा पुस्तक तयार भए पनि जवाफमा कति धेरै गहिराइ हुँदो रहेछ भन्ने महसुस ‘युगदेखि युगसम्म’ पढ्दा हुने बताए । उनले भने, ‘शब्दको सामर्थ्य र पुस्तकले त्यही भनाइलाई पनि कुन गहिराइसम्म लगेर दार्शनिक ढंगले उत्तर बनाउँछ भन्ने जवाफ हो यो पुस्तक ।’