Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिनेपाः’ स्टुडियो बनाउन सरकारले ३ करोड अनुदान दिने

फिल्मीखबर, काठमाडौं, 2025/10/11

bord

 

काभ्रे जिल्लाको बनेपामा निर्माण भइरहेको अत्याधुनिक फिल्म छायांकन स्टुडियो ‘सिनेपाः’का लागि सरकारले ३ करोड रुपैयाँ अनुदान बजेट उपलब्ध गराउने भएको छ । शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच यस सम्बन्धी सम्झौता भएको हो ।

नेपाली फिल्म क्षेत्रलाई प्रविधिक रूपमा सशक्त बनाउन, निर्माताहरूलाई एकीकृत स्थानमा सम्पूर्ण सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने परियोजनाको रूपमा बोर्डले ‘सिनेपाः’ स्टुडियोलाई लिएको छ । यसमा छायांकनसँगै ध्वनि रेकर्डिङ, सम्पादन, भिजुअल इफेक्ट्स, कलर ग्रेडिङ लगायतका सुविधाहरू रहने जनाइएको छ । 

अनुदान सम्झौतापछि बोर्डका अध्यक्ष दिनेश डीसीले भने, ‘बनेपामा निर्माण भइरहेको ‘सिनेपाः’ स्टुडियो नेपाली फिल्म उद्योगका लागि नयाँ युगको सुरूवात हुनेछ । यो केवल स्टुडियो होइन, हाम्रो फिल्म क्षेत्रको भविष्यमा लगानी हो ।’ यो स्टुडियोले फिल्म पर्यटन, रोजगारी र सीप विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उनको विश्वास छ ।

गत बैशाख ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपाः’ स्टुडियोको निर्माण आरम्भ उद्घोष गरेका थिए । बनेपा नगरपालिकास्थित वडा नं. १० र १३ को ४२ रोपनी क्षेत्रफलमा निर्माणाधीन यो स्टुडियोको कुल लागत ३९ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको निर्माणको ठेक्का यू एन्ड एस–एनएस–रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले लिएको छ ।