
अभिनेत्री रीमा विश्वकर्मा देशको समसामयिक विषयलाई लिएर सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहेकी हुन्छिन् । जेनजी आन्दोलनपछि उनले लेखेका केही स्टाटस निकै चर्चामा पनि रहे । केही दिनअघि उनले एमालेका नेता महेश बस्नेतलाई नेता हो कि गुन्डा भन्दै लेखेको स्टाटसले ठूलै चर्चा पाएको थियो । यसको जवाफमा महेशले भने जातीय विभेदको विषय उठाएका थिए ।
जेनजीको आन्दोलनपछि विकसित घट्नाक्रमलाई लिएर चिन्ता र चासो व्यक्त गरिरहेकी रीमाले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गर्दै फेसबुकमा एक पोस्ट लेखेकी छन् । जहाँ उनले जेनजी आन्दोलनमा मृत्यु भएका विद्यार्थीको हत्यारालाई कारबाहीको माग गरेकी छन् । उनले भ्रष्टाचारको भण्डाफोर गर्न पनि आग्रह गरेकी छन् ।
रीमाले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, देश निर्माण मिलेर गरौंला, पहिला ती अबोध विद्यार्थीका हत्यारालाई कारबाही गरियोस् र भ्रष्टाचारको भण्डाफोर गरियोस् । तपाईं हुनुहुन्छ र त न्यायको झिनो आश अझै बाँकी छ ।’ उनको यो भनाइमा सामाजिक सञ्जाल प्रयोगकर्ताले आ-आफ्नो धारणा राखेका छन् । प्रायःले अहिलेको सरकारबाट पनि केही नहुने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री कार्कीप्रति ठूलो अपेक्षा राखेकी रीमाले केही दिनअघि पनि एक पोस्ट लेख्दै प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने धारणा व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘उहाँ सबैको विश्वास जितेर चुनिनुभएको हो । ५ महिनापछि हामीलाई चाहिएको नयाँ नेतृत्व हामी आफैं चुनाव मार्फत चुनौँला । अहिलेका लागि उहाँलाई काम गर्ने वातावरण बनाइदिऔँ ।’

