
चर्चित कमेडी शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ । बिहीबार पर्वतको भूकदेउरालीमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गरेपछि फिल्मको छायांकन सुरू गरिएको हो । ३५ दिनको तालिकामा २० दिन पर्वतमा र १५ दिन काठमाडौंमा छायांकन हुने जनाइएको छ ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईँको निर्देशनमा बन्ने यो फिल्मको छायांकनमा तृप्ति नाडकर, रेखा थापा, दीया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारहरू जोडिसकेका छन् । अभिनेत्री गौरी मल्ल केही दिनमा पर्वत पुग्नेछिन् । तृप्ति, गौरी र रेखाले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यसैले यो फिल्मप्रति दर्शकमा उच्च चासो देखिएको छ ।
‘ककाकिकी’को कथा तथा संवाद निर्देशक बिक्कीले विकास अर्याल र सरोज भण्डारीसँग मिलेर तयार पारेका हुन् भने पटकथा उनी स्वयंको हो । यसमा विश्वास तिमल्सिना स्क्रिप्ट डाक्टरको रूपमा रहेका छन् । अनिश बुढाथोकी सहायक निर्देशन रहेको फिल्मलाई सुदिप बरालले छायांकन गर्नेछन ।
निर्माण टिमले गत साउनमा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेको थियो । पोस्टरमा बुढ्यौली गेटअपमा प्रस्तुत भएका तृप्ति र गौरी रेखासँग लडिरहेको अवस्थामा देखिएका थिए । महेश भने तनावग्रस्त भावमा चित्रित थिए । पोस्टरले फिल्म कमेडी जनरामा बन्ने प्रष्ट संकेत गर्छ । श्रद्धा प्रसाईँ र सुमित्रा थापा फिल्मको निर्मातामा छन् ।

